काठमाडौं । शेरबहादुर देउवाको पार्टीभित्रको हैसियतलाई लिएर नयाँ बहस सुरु भएको छ। कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको राष्ट्रिय भेलामा नेताहरूले देउवालाई ‘सभापति’कै रूपमा सम्बोधन गर्दै नेतृत्वमा अघि बढाउने धारणा राखिरहेका बेला देउवा स्वयंले भने आफूलाई सभापतिका रूपमा प्रस्तुत नगरेका हुन्।

देउवाले बिहीबार जारी गरेको वक्तव्यमा समेत आफूलाई ‘सभापति’ भनेर उल्लेख गरेका छैनन्। पछिल्लो राजनीतिक परिस्थितिमा कांग्रेसको नेतृत्वसम्बन्धी विवाद चर्किरहेका बेला देउवाको वक्तव्यमा ‘सभापति’ पद उल्लेख नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तर, शुक्रबारदेखि सुरु भएको कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलामा भने तस्वीर फरक देखिएको छ। भेलामा सहभागी नेताहरूले देउवालाई पार्टीको नेतृत्वमा रहेको भन्दै सम्बोधन गरेका छन्। भेलाको उद्घाटनसमेत देउवाले गरेका छन्।

विशेष महाधिवेशनपछि कांग्रेसको नेतृत्व गगनकुमार थापाको हातमा पुगेपछि देउवा पक्षले त्यसलाई स्वीकार गरेको छैन। निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो र अदालतले कांग्रेसको नेतृत्व तथा आधिकारिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएको छ।

यही पृष्ठभूमिमा देउवाको पछिल्लो अभिव्यक्ति र इतरपक्षको राष्ट्रिय भेलामा उनको भूमिकाले कांग्रेसभित्रको नेतृत्व विवादलाई थप पेचिलो बनाएको छ।

एकातिर देउवा स्वयंले आफ्नो वक्तव्यमा ‘सभापति’ पदको प्रयोग नगर्नु र अर्कोतिर इतरपक्षका नेताहरूले उनलाई ‘सभापति’कै रूपमा अघि सार्नुले कांग्रेसको नेतृत्व विवाद अझ रोचक बनेको छ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com