नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम दिने घोषणा गरेका छन्।
भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँदिल्लीस्थित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले आगामी एक वर्षभित्र एक करोड युवालाई एआई तालिम प्रदान गर्ने घोषणा गरेका हुन्।
सम्बोधनका क्रममा मोदीले प्रविधि, नवप्रवर्तन, आत्मनिर्भरता, ऊर्जा सुरक्षा र सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यलाई प्राथमिकताका साथ प्रस्तुत गरे। उनले भारत अब साना लक्ष्यमा सीमित हुन नहुने भन्दै ठूलो सपना र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताए।
मोदीले एआईलाई आगामी दिनमा भारतको विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे। उनले भारतलाई विश्वकै नवप्रवर्तन केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित युवालाई अत्याधुनिक प्रविधिसँग जोड्न एआई तालिमको कार्यक्रम अघि सारिएको बताए।
‘अब समय डेटा सेन्टर र एआईको हो। हामी भारतलाई नवप्रवर्तनको केन्द्र बनाउन चाहन्छौँ,’ मोदीले भने, ‘त्यसैले एक करोड युवालाई एआईको तालिम दिइनेछ।’
मोदीले भारत स्वतन्त्र भएको १०० वर्ष पूरा हुने सन् २०४७ सम्म देशलाई विकसित राष्ट्र बनाउने लक्ष्य पुनः दोहोर्याए।
ठूलो लक्ष्य हासिल गर्न सरकारको मात्र नभई सम्पूर्ण नागरिकको सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो। दशकौँ लाग्ने विकासका कामलाई अब छोटो समयमै सम्पन्न गर्नुपर्ने उनले बताए।
मोदीले भारतमा सशस्त्र नक्सलवाद कमजोर भए पनि त्यससँग सम्बन्धित विचारधारा फरक रूपमा सक्रिय हुन सक्ने चेतावनी दिए।
धेरै क्षेत्र नक्सलमुक्त भइसकेको उल्लेख गर्दै उनले सशस्त्र गतिविधि कमजोर भए पनि ‘मानसिक नक्सल’हरूले अवसर खोजिरहेको दाबी गरे। यस्ता गतिविधि र विचारलाई समयमै पहिचान गरी समाजलाई गलत दिशातर्फ जानबाट रोक्नुपर्ने उनले बताए।
प्रधानमन्त्री मोदीले भारतले अन्य मुलुकमाथिको अत्यधिक निर्भरता घटाउँदै आफ्नै उत्पादन र क्षमतामा जोड दिनुपर्ने बताए। आत्मनिर्भरतालाई दीर्घकालीन राष्ट्रिय हितसँग जोड्दै उनले देशभित्रै उत्पादन र नवप्रवर्तनको क्षमता विस्तार गर्नुपर्ने धारणा राखे।
उनले भारतले औषधि, कपडा, मेसिनलगायत विभिन्न क्षेत्रमा उत्पादन क्षमता विस्तार गरेको र भारतीय उत्पादन विश्व बजारमा पुगिरहेको दाबी गरे।
मोदीले भारतमा पाइपमार्फत ग्यास आपूर्ति विस्तार भएको बताए। उनका अनुसार सन् २०१४ अघि करिब ७० सहरमा मात्र पाइपबाट ग्यास आपूर्ति हुने गरेकामा अहिले यो सुविधा करिब ७०० सहरसम्म पुगेको छ।
त्यस्तै, पाइपबाट ग्यास प्राप्त गर्ने घरपरिवारको संख्या पनि उल्लेख्य रूपमा बढेको उनले बताए।
सौर्य ऊर्जाको उत्पादन क्षमता बढेको उल्लेख गर्दै मोदीले भारतको सौर्य ऊर्जा क्षमता १६० गिगावाट पुगेको दाबी गरे। ‘प्रधानमन्त्री सूर्य घर’ योजनामार्फत घर–घरमा सौर्य ऊर्जा विस्तार भइरहेको र कतिपय परिवारले विद्युत् बिक्री गरेर आम्दानीसमेत गर्न थालेको उनले बताए।
मोदीले कोरोना महामारी तथा रुस–युक्रेन युद्धका कारण उत्पन्न चुनौतीका बाबजुद भारतले आफ्नो विकासको गति कायम राखेको दाबी गरे। राजनीतिक स्थिरता, संविधान, न्याय व्यवस्था र उत्पादन क्षमताका कारण विश्वले भारतको सम्भावना र क्षमतालाई थप पहिचान गर्न थालेको उनको भनाइ थियो।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया