काठमाडौं । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ कपाससमेत स्वदेशमै उत्पादन बढाउने योजना अघि सारेको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले नेपालमा कपडा उत्पादनका लागि आवश्यक कपासको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आग्रह गरेकी छन्।

कपास उत्पादन विस्तारका विषयमा मन्त्री यादवले कृषि मन्त्री गीता चौधरीसँग समेत छलफल गरेकी छन्। छलफलका क्रममा कृषि मन्त्री चौधरीले दाङ, बाँके र बर्दियालगायतका जिल्लामा व्यावसायिक रूपमा कपास खेती विस्तार गर्न सकिने सम्भावना रहेको बताएकी छन्।

नेपालमा कपास खेतीको पर्याप्त सम्भावना रहे पनि व्यावसायिक उत्पादन अपेक्षाकृत न्यून हुँदा कपडा उद्योग आवश्यक कच्चा पदार्थका लागि आयातमा निर्भर रहनुपर्ने अवस्था छ। सरकारले कपडा उद्योगसँगै कपास उत्पादनलाई प्राथमिकतामा राख्न सके आयात घटाउनुका साथै किसानको आम्दानी र रोजगारीका अवसर बढाउन सकिने अपेक्षा गरिएको छ।

यसैबीच, लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार कारखानाको सम्पत्ति तथा दायित्व मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ।

हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालनसँगै स्वदेशमै कपास उत्पादन विस्तार गर्न सकिए कपासदेखि धागो र धागोदेखि कपडासम्मको उत्पादन शृंखला नेपालमै विकास गर्न सकिने सम्भावना देखिएको छ।

मन्त्री यादवले स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नेपालमै उत्पादन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताउँदै आएकी छन्। कपास खेती विस्तारमार्फत विदेशी कपासको आयात घटाउने, स्वदेशी उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य रहेको छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com