काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक परिवर्तन भए पनि जनतामा निराशा बढ्दै गएको र मुलुक थप संकटतर्फ उन्मुख भएको बताएका छन्। उनले वर्तमान संकटबाट देशलाई निकास दिन नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार आयोजित कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले कांग्रेस मुलुककै पुरानो लोकतान्त्रिक पार्टी भएकाले अहिले देखिएको राजनीतिक, सामाजिक तथा आर्थिक संकट समाधान गर्ने जिम्मेवारी पनि पार्टीकै काँधमा रहेको बताए।
उनले नेपालमा भएका प्रमुख लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा कांग्रेसले निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै त्यसबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताए।
‘२००७, २०४६ र २०६३/६४ सालका आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। २०७२ सालको संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको हो। यसमा गर्व गर्न सक्नुपर्छ,’ देउवाले भने।
यद्यपि ती परिवर्तनमा अन्य राजनीतिक दलको समेत महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक उपलब्धिको संरक्षण र संस्थागत विकासमा सबै पक्षको भूमिकालाई सम्मान गर्नुपर्ने बताए।
देउवाले कांग्रेस अहिले गम्भीर आन्तरिक संकटबाट गुज्रिरहेको भन्दै विशेष महाधिवेशनका नाममा पार्टीभित्र थप समस्या सिर्जना गर्ने प्रयास भएको आरोप लगाए। यद्यपि पार्टीभित्र देखिएको विवाद र मतभेदको समाधान विभाजन नभई एकताबाटै खोज्नुपर्ने उनको स्पष्ट धारणा थियो।
‘तर म अझै पनि भन्छु, एकताको विकल्प छैन। कांग्रेसमा संकट आउँदा देशमै संकट आउँछ। सबैलाई समेटेर बृहत् एकताको आवश्यकता छ। सबैलाई एक हुन आह्वान गर्दछु,’ उनले भने।
उनले व्यक्तिगत तथा गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको बृहत्तर हितका लागि सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताए। कांग्रेसभित्रको विभाजनले पार्टीलाई मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीलाई समेत असर पार्ने उनको भनाइ थियो।
पूर्वप्रधानमन्त्री देउवाले मुलुक अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा कठिन परिस्थितिबाट गुज्रिरहेको बताए। यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।
उनले वर्तमान चुनौती समाधानका लागि संवाद, सहमति र सहकार्यको बाटो अपनाउन कांग्रेस तयार रहेको स्पष्ट पारे।
उनका अनुसार राजनीतिक दलहरूले आफ्नो कार्यशैलीमा सुधार गर्दै जनतामा बढ्दै गएको निराशा अन्त्य गर्न ठोस परिणाम दिने गरी अघि बढ्नुपर्छ। लोकतान्त्रिक शक्तिबीचको एकता र सहकार्यबाट मात्रै मुलुकलाई स्थिरता, सुशासन र विकासको दिशामा अघि बढाउन सकिने उनले बताए।
कांग्रेसभित्र देखिएको वर्तमान विवादको समाधान न्यायिक प्रक्रियाबाट हुने विश्वास व्यक्त गर्दै देउवाले न्यायपालिकाप्रति आफ्नो अटुट विश्वास रहेको बताए।
उनले अदालतका निर्णयलाई सम्मान गर्दै संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसभित्रको विवादमा पनि न्यायपालिकाबाट आफूले न्याय पाउने विश्वास रहेको उनको भनाइ थियो।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया