काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले ‘लहड’का भरमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजित कांग्रेसको इतरपक्षीय राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सिटौलाले आयोगको निर्णयप्रति गम्भीर प्रश्न उठाउँदै आधिकारिकता दिने प्रक्रियामा संलग्न पदाधिकारीको भूमिकामाथिसमेत असन्तुष्टि व्यक्त गरे।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको र नयाँ कार्यसमिति गठन भएको दाबी आफूहरूले स्वीकार गर्न नसक्ने सिटौलाले बताए। व्यक्तिगत पूर्वाग्रहका कारण नभई पार्टीको विधान र स्थापित प्रक्रियाविपरीत विशेष महाधिवेशन आयोजना गरिएको उनको दाबी छ।

‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढङ्गबाट गरिएको छ। व्यक्तिगत पूर्वाग्रह होइन, विधानविपरीत छ,’ सिटौलाले भने।

उनले निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने क्रममा कांग्रेसको विधान, प्रक्रिया तथा सम्बन्धित पक्षका दाबीबारे पर्याप्त अध्ययन नगरेको आरोप लगाए। आयोगका पदाधिकारीले निर्णय गर्नुअघि पार्टीभित्रको विवाद र दुवै पक्षको दाबीलाई गम्भीरतापूर्वक हेर्नुपर्ने उनको भनाइ थियो।

यसअघि राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पनि सिटौलाले निर्वाचन आयोगको निर्णयप्रति प्रश्न उठाएका थिए।

‘गगनजीहरू जानुभयो, सभापति भएँ भन्नुभयो। यत्ति भनेका आधारमा आयोगले प्रमाणपत्र दिनुपर्ने हो? शेरबहादुरलाई सोध्न पर्दैन?’ उनले प्रश्न गरेका थिए।

सिटौलाले विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयलाई लिएर उत्पन्न विवादको समाधान न्यायिक प्रक्रियाबाट हुने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतबाट निस्सा प्राप्त भइसकेकाले अब न्याय पाइनेमा आफ्नो विश्वास अझ बलियो भएको उनले बताए।

कांग्रेसभित्रको विवादलाई थप जटिल बनाउनेभन्दा विगतका गल्ती सच्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। पार्टीलाई विधि, विधान र प्रक्रियाअनुसार सञ्चालन गर्न नेतृत्व तथा कार्यकर्ताले आत्मसमीक्षा गर्दै सहमतिको बाटो खोज्नुपर्ने उनको सुझाव छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com