काठमाडौं । लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा सहभागी हुनसक्ने भन्दै प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा निगरानी बढाएको छ।

प्रहरी टोली शनिबार भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा पुगेको हो। उनी पीडितहरूको आन्दोलनमा सहभागी हुन सक्ने सूचना पाएपछि सम्भावित अप्रिय अवस्था रोक्न प्रहरी परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईं आन्दोलनमा सहभागी हुँदा परिस्थिति थप उत्तेजित हुन सक्ने आकलनका आधारमा उनलाई निवासमै रोक्ने उद्देश्यले प्रहरी त्यहाँ पुगेको हो।

‘अप्रिय अवस्था सिर्जना नहोस् भनेर प्रहरीले सावधानी अपनाएको हो,’ प्रहरी स्रोतले भन्यो।

यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिनसम्म पैदल यात्रा गरेका लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन्।

पीडितहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको गेटअगाडिको सडकमा धर्ना दिएका थिए। आफ्ना माग सम्बोधन नभएसम्म र सरकारका तर्फबाट वार्ताका लागि प्रतिनिधि नआएसम्म आन्दोलनस्थलबाट नहट्ने उनीहरूको अडान छ।

पीडितहरूले आफूहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै आन्दोलन जारी राखेका छन्।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com