काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने आफ्नो चाहना रहेको बताएका छन्। यद्यपि, उम्मेदवारीको अन्तिम निर्णय भने नेता–कार्यकर्तासँगको परामर्शपछि मात्रै गर्ने उनले स्पष्ट पारे।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सभापतिको दौडबाट आफू पछि नहट्ने संकेत गरे। आफू सभापति बन्न इच्छुक भए पनि व्यक्तिगत इच्छाले मात्र उम्मेदवारी तय नहुने उनको भनाइ छ।

‘पार्टी सभापतिका लागि म पनि इच्छुक छु। तर मैले इच्छा गरेर मात्रै हुँदैन,’ उनले भने, ‘साथीहरूको धारणा पनि सुन्नुपर्छ। उहाँहरूको सुझाव लिएपछि मात्रै निर्णय गर्छु।’

कांग्रेस नेता डा. शेखर कोइराला सभापति पदमा उम्मेदवार बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा शशांकले आफूहरूबीच राम्रो समझदारी रहेको बताए। शेखर उम्मेदवार बने आफूले सहयोग गर्ने उनको भनाइ छ।

‘शेखरजी र मबीच निकै राम्रो समझदारी छ। उहाँ सभापतिमा उठ्नुभयो भने पनि ठीकै छ, म सहयोग गरिहाल्छु,’ उनले भने।

सभापतिमा आफ्नो आकांक्षा सार्वजनिक गरे पनि कोइरालाले कांग्रेस विभाजनको सम्भावना भने अस्वीकार गरे। पार्टी फुटाएर नयाँ दल गठन गर्ने कुनै योजना नरहेको स्पष्ट पार्दै उनले समस्या उत्पन्न भए पार्टीभित्रै संवाद र छलफलबाट समाधान खोजिने बताए।

‘म पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने पक्षमा बिल्कुलै छैन। समस्या आयो भने छलफल गरेरै एउटा निष्कर्षमा पुग्छौँ,’ कोइरालाले भने।

उनले अब कांग्रेसले पुराना राजनीतिक विवादभन्दा विकास, संगठन निर्माण र युवालाई केन्द्रमा राखेर नयाँ दिशामा अघि बढ्नुपर्ने धारणा राखे। मुलुकमा मूलतः सैद्धान्तिक राजनीतिक विवादको चरण समाप्त भइसकेकाले अब जनताको आवश्यकता र बदलिँदो समयअनुसार कांग्रेसको प्राथमिकता तय हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com