काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले जाजरकोटमा जनजीवन प्रभावित बनाएको छ। भेरी नगरपालिका–२ रिसाङलगायत क्षेत्रमा पहिरो खस्दा ७ जना घाइते भएका छन् भने घर तथा अस्थायी टहरामा क्षति पुगेको छ।
पहिरोमा परी ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रेफर गरिएको छ। यस्तै, आरन सञ्चालन गर्दै आएका सिद्दीबहादुर कामीको ढाडमा गम्भीर चोट लागेको छ। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा भद्रावली कार्की, मनवीर चदरा, मनिषा विक र मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यमदेखि गम्भीर रहेको प्रहरीले जनाएको छ।
पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। घरमा रहेका पाँच जना आफन्तको घरमा आश्रय लिएर बसेका छन्। सोही क्षेत्रमा भैरवी केसीका दुईवटा अस्थायी टहरा पनि पहिरोले भत्काएको छ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि परिचालन गरिएको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि उद्धार टोली पैदलै घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। घटनाबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया