जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पहिरोको जोखिम बढेपछि स्थानीय करिब ६०–७० घरपरिवारका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

शनिबारदेखि परेको लगातार वर्षाका कारण रिसाङ, चिसापानीलगायत क्षेत्रमा पहिरो खसेर घर तथा टहरा क्षतिग्रस्त भएका हुन्। पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भेरी–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री छन्। भेरी–२ कै करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो।

पहिरोमा परी घाइतेमध्ये केहीको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ।

घर र टहरा क्षतिग्रस्त, बस्ती जोखिममा

पहिरोले भेरी–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ। पाँच सदस्यीय परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। सोही क्षेत्रमा रहेका दुईवटा अस्थायी टहरा पनि भत्किएका छन्।

अविरल वर्षा नरोकिएकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ।

२०० भन्दा बढी सुरक्षित स्थानमा

जोखिममा रहेका नागरिकलाई त्रिभुवन आधारभूत विद्यालयमा आश्रयको व्यवस्था गरिएको छ। प्रहरीले झ्यालीखेत डाँडा, चिसापानी, राउटेरे डाँडा र रिसाङ फारुलालगायत क्षेत्रबाट गरी २०० भन्दा बढीलाई सुरक्षित स्थानमा सारेको जनाएको छ।

उद्धार तथा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली जोखिमपूर्ण क्षेत्रमा परिचालित छन्। प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरी टोलीसमेत खटाइएको छ।

प्रदेश सरकारद्वारा राहत सामग्री पठाइयो

कर्णाली प्रदेश सरकारले पहिरोपीडितका लागि त्रिपाल, ब्ल्याङ्केट, चामल, चिउरा, टेन्ट, प्लास्टिकलगायत राहत सामग्री जाजरकोट पठाएको छ।

पीडितलाई विद्यालयमा आश्रय दिएर स्वास्थ्य परीक्षणसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन्। मुख्यमन्त्री मंगलबहादुर शाहीले तत्कालीन आवश्यकता सम्बोधन गर्दै थप मागका आधारमा राहत र पुनःस्थापनाका काम अघि बढाउने बताएका छन्।

भेरी करिडोर पनि अवरुद्ध

पहिरो र सडक क्षतिका कारण भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–१० र ११ बीचको ताक्सुगाडमा सडक अवरुद्ध भएको छ।

भेरी करिडोर आयोजना प्रमुख नरेशकुमार केसरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा एक साता लाग्न सक्छ। जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने यो सडक अवरुद्ध हुँदा आवतजावत थप प्रभावित भएको छ।

प्रशासनले वर्षा जारी रहेकाले स्थानीयवासीलाई जोखिमयुक्त क्षेत्रमा नबस्न र सम्भावित विपद्का संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com