काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुईदिने राष्ट्रिय भेला पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको यो समूहले पार्टीको १५औँ महाधिवेशनदेखि धर्म, संस्कृति र संगठन सञ्चालनसम्मका विषय समेटिएका प्रस्ताव पारित गरेको हो ।
भेलाले आगामी १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । साथै, महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेलाका संयोजकले समन्वय गर्दै अघि बढाउने प्रस्ताव पनि पारित गरिएको छ ।
राष्ट्रिय भेलाको संयोजक डा. शशांक कोइराला रहेका थिए ।
संस्थापन इतर समूहले देउवालाई नै कांग्रेसको सभापति मान्दै आएको छ । गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै इतर समूहले अदालतमा पुनरावेदन दिएको छ । सर्वोच्च अदालतले उक्त विषयमा पुनः सुनुवाइ गर्ने आदेशसमेत दिइसकेको छ ।
भेलाले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सञ्चालन, लोकतान्त्रिक अभ्यास तथा धर्म–संस्कृतिसम्बन्धी विषयमा समेत धारणा तय गरेको छ ।
यी हुन् पारित पाँच प्रस्ताव
१. १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
२. २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
३. नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
४. वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।
५. २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार












प्रतिक्रिया