काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको समापन समारोहमा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु धर्मप्रति आस्थावान रहेको बताउँदै ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर शाहीले देउवालाई हिन्दु राष्ट्रको पहिचान हटाइएको विषयमा जवाफ दिन आग्रह गरेका हुन् ।
शाहीले देउवा वास्तवमै हिन्दु धर्मप्रति आस्थावान भएको भए नेपालबाट हिन्दु राष्ट्रको पहिचान हटाउने निर्णय किन र कसको पहलमा भयो भन्ने प्रश्नको जवाफ जनतालाई दिनुपर्ने बताए ।
‘आज पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो– ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’ यदि तपाईं हिन्दु हुनुहुन्छ भने मेरो प्रश्न छ– जनतालाई जवाफ दिनुहोस्, हिन्दु राष्ट्र किन हटाइयो ? कसको निर्णयमा हटाइयो ?’ शाहीले प्रश्न गरेका छन् ।
हिन्दु राष्ट्रको पहिचान हटाउने निर्णयको जिम्मेवारी देउवाले लिने कि नलिने भन्ने प्रश्नसमेत शाहीले गरेका छन् । विदेशी प्रभाव र आर्थिक स्वार्थका कारण नेपालको हजारौँ वर्ष पुरानो हिन्दु सभ्यतासँग जोडिएको पहिचान समाप्त पार्ने काम भएको हो कि होइन भन्नेबारे देउवाले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
शाहीले नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयका पछाडि को–को जिम्मेवार थिए भन्ने विषयमा समेत देउवाले जनतासामु जवाफ दिनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया