विराटनगर । व्यवसायिक घराना दिवाकर राठी र आकाश गोल्छासहित संस्थागत लगानीकर्ताको सहभागिता रहेको जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीको विशेष साधारणसभाले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्दै आगामी दिनमा विद्युतीय सवारीसाधन (ईभी) का ब्याट्री रिसाइकलिङ व्यवसायमा प्रवेश गर्ने योजना पनि अघि सारेको छ।

मोरङको बुढीगंगा गाउँपालिका–५, हात्तीमुढास्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा सम्पन्न विशेष साधारणसभाले कम्पनीको जारी पुँजी ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

संस्थापक सेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ

विशेष साधारणसभाले कम्पनीको संस्थापक सेयरको मूल्यसमेत निर्धारण गरेको छ। १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी संस्थापक सेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।

ईभी ब्याट्री रिसाइकलिङमा प्रवेश गर्ने योजना

हाल पुराना ब्याट्री, धातु तथा प्लास्टिकजन्य सामग्री रिसाइकल गर्दै आएको कम्पनीले ईभी ब्याट्री रिसाइकलिङलाई आफ्नो आगामी व्यवसायको नयाँ क्षेत्रका रूपमा अघि बढाउने भएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा आगामी वर्षहरूमा प्रयोग भइसकेका ईभी ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने भएकाले त्यसलाई व्यवसायिक अवसरका रूपमा उपयोग गर्ने कम्पनीको योजना छ। प्रयोग भइसकेका ईभी ब्याट्रीलाई प्रशोधन गरी पुनः उपयोग गर्न सकिने सामग्रीमा रूपान्तरण गर्ने लक्ष्य कम्पनीले लिएको छ।

ब्याट्रीदेखि प्लास्टिकसम्मका सामग्री उत्पादन

जेमिनी रिसाइकल नेपालले हाल पुराना ब्याट्री रिसाइकल गरी रिमेल्टेड लिड तथा रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ। त्यस्तै, आल्मुनियम र कपर स्क्र्यापबाट विभिन्न उत्पादन तथा ब्याट्रीजन्य सामग्री तयार गर्ने कम्पनीले पुराना प्लास्टिकबाट प्लास्टिक दाना र चिप्ससमेत उत्पादन गर्दै आएको छ।

कम्पनीका अधिकांश उत्पादन भारत निर्यात हुँदै आएका छन्। फोहोर तथा प्रयोग भइसकेका सामग्रीलाई प्रशोधन गरी औद्योगिक कच्चा पदार्थमा रूपान्तरण गर्दै आएको कम्पनीले आगामी दिनमा उत्पादन क्षमता र निर्यात बजार दुवै विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

राठी र गोल्छासहित संस्थागत लगानीकर्ताको सहभागिता

जेमिनी रिसाइकल नेपालको नेतृत्व व्यवसायिक घराना राठी समूहका दिवाकर राठीले गरेका छन्। गोल्छा अर्गनाइजेसनसँग आबद्ध आकाश गोल्छा र विल किशोर मेन्याङ्बो कम्पनीका सञ्चालक छन्।

कम्पनीमा टप फन्ड लिमिटेड, स्टार फन्ड इन्भेस्टमेन्ट लिमिटेड र हार्भेस्ट भेन्चर्स प्रालिलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ।

व्यवसायिक घराना र संस्थागत लगानीकर्ताको सहभागिताले कम्पनीको पुँजी विस्तार, उत्पादन क्षमता वृद्धि, निर्यात बजार विस्तार तथा ईभी ब्याट्री रिसाइकलिङमा प्रवेश गर्ने योजनालाई थप आधार प्रदान गर्ने अपेक्षा कम्पनीको छ।

 ‘सफा सहर’का लागि पीपीपी मोडलमा जाने तयारी

कम्पनीले रिसाइकलिङ व्यवसायलाई वातावरण संरक्षणसँग जोडिएको दीर्घकालीन व्यावसायिक मोडलका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत घर, उद्योग, सार्वजनिक स्थल तथा सरकारी कार्यालयबाट उत्पादन हुने फोहोर व्यवस्थित रूपमा संकलन र प्रशोधन गर्ने योजना कम्पनीको छ। आधुनिक प्रविधिको प्रयोग गर्दै मोबाइल एपसहितको घरदैलो सेवा सञ्चालन गरी फोहोर संकलन तथा व्यवस्थापन गर्ने लक्ष्यसमेत राखिएको छ।

कम्पनीका अनुसार रिसाइकलिङ व्यवसाय विस्तार हुँदा वातावरण संरक्षणमा योगदान पुग्नुका साथै आयातित कच्चा पदार्थमाथिको निर्भरता घटाउन, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्नसमेत सहयोग पुग्नेछ।

सर्वसाधारणलाई आईपीओमार्फत कम्पनीमा जोड्ने तयारीसँगै ईभी ब्याट्री रिसाइकलिङजस्तो नयाँ क्षेत्रमा प्रवेश गर्ने योजनाले जेमिनी रिसाइकल नेपालको आगामी व्यावसायिक विस्तारलाई थप महत्वाकांक्षी बनाएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com