काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । एयर इन्डियाको विमानमार्फत उनी अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा प्रधानसेनापति सेठले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन् ।

गत जुन ३० मा भारतीय स्थल सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने भएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् ।

मानार्थ महारथीको दर्जा ग्रहण गरेपछि प्रधानसेनापति सेठ सोमबार नै नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाल र भारतबीच कायम रहेको सैन्य सम्बन्ध तथा पारस्परिक सहयोगको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहँदै आएको छ ।

तस्बिरहरु नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com