काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचार र राजनीतिक दृष्टिकोणलाई आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले बीपी कोइरालाको समग्र राजनीतिक जीवन, विचार र मूल्यमान्यतालाई नहेरी राजनीतिक स्वार्थअनुकूलका प्रसङ्गमा मात्र उनको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताए ।

विशेषगरी पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’ को प्रसङ्ग जोडेर बीपीलाई सम्झिने गरेको उनको टिप्पणी थियो । आफ्नै राजनीतिक निर्णय लिन नसक्दा नेताहरूले बीपीको नामको सहारा लिने गरेको आरोपसमेत उनले लगाए ।

‘हाम्रो परम्परा आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहाँनिर प्रयोग गर्ने रह्यो,’ थापाले भने, ‘अहिले पनि ठाउँ–ठाउँमा भएका छलफलमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्ग एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात बीपीलाई सम्झिनुभएको छ ।’

बीपीका विचारलाई सन्दर्भविहीन रूपमा उद्धृत गर्दा उनको वास्तविक राजनीतिक दृष्टिकोण नै कमजोर हुने थापाको भनाइ थियो । आफ्नै निर्णयमा अघि बढ्ने राजनीतिक साहस नहुँदा बीपीको नामलाई आधार बनाउने गरिएको उनले बताए ।

‘काठमाडौंमा बसेर कुराकानी गर्दा बीपीले यसो भन्नुभएको थियो भनिन्छ,’ थापाले भने, ‘आज बीपीलाई मिसकोट गरिँदा र अपव्याख्या गरिँदा बीपीको आह्वानमा आन्दोलनमा उत्रेका पुराना अभियन्ताहरू अगाडि आएर वास्तविकताबारे बुझाउनुपर्छ ।’

थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता कांग्रेसका ऐतिहासिक नेताहरूलाई कुनै परिवार वा सीमित समूहको राजनीतिक सम्पत्तिका रूपमा सीमित गर्न नहुने बताए । उनीहरूका विचार र योगदानलाई व्यापक राजनीतिक तथा सामाजिक सन्दर्भमा बुझ्नुपर्ने उनको धारणा थियो ।

बीपी कोइरालाको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै थापाले उनका विचार समयअनुसार विकसित भए पनि लोकतन्त्र र सामाजिक न्यायप्रतिको मूल प्रतिबद्धता भने निरन्तर कायम रहेको बताए ।

 

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com