काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्दै फैलाइएको हल्लाप्रति आपत्ति जनाउँदै यस्तो भ्रम फैलाउने व्यक्तिलाई व्यंग्यात्मक शैलीमा ‘गालामा मालिस गरिदिए हुने’ टिप्पणी गरेका छन्।
गोरखा–१ निर्वाचन क्षेत्रअन्तर्गतका विभिन्न गाउँमा पुगेर स्थानीयवासीका गुनासा, समस्या तथा माग सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल बनाउन लागेको चर्चा भइरहेको बताएपछि गृहमन्त्री गुरुङले उक्त कुरा निराधार भएको स्पष्ट पारे।
उनले त्रिशूलीजस्तो नदीमा सरकारले बाँसको पुल निर्माण गर्ने कुरा पत्याउन नसकिने भन्दै यस्तो हल्ला फैलाएर जनतालाई भ्रमित पार्न खोजिएको बताए।
‘नेपाल सरकार त्यति लाटो छैन कि त्रिशूलीमा बाँसको पुल बनाओस्। जसले यस्तो भ्रम फैलायो, साह्रै बुद्धु मान्छे रहेछ,’ गुरुङले भने।
सरकारले २७–२८ लाख रुपैयाँ खर्च गरेर त्रिशूली नदीमा बाँसको पुल बनाउन लागेको भन्ने हल्ला फैलाइएको भन्दै उनले त्यसलाई पूर्ण रूपमा गलत भएको बताए।
यस्ता भ्रमपूर्ण कुरा पुनः फैलाउने व्यक्तिप्रति व्यंग्य गर्दै उनले भने, ‘अब नेक्स्ट टाइम जसले यस्तो भ्रम फैलाउँछ, गालामा यसो मालिस गरिदिए हुन्छ। सुमसुम्याइँ दिए हुन्छ, के कुरा गर्नुभएको भनेर।’
स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या र गुनासा सुन्न गोरखा पुगेका गृहमन्त्री गुरुङले विकास निर्माण तथा स्थानीय आवश्यकतासँग सम्बन्धित विषयमा पनि जानकारी लिएका थिए।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया