काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापति गगनकुमार थापाको भएको बताएका छन्। उनले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न पहल नगरे परिस्थिति जटिल बन्न सक्ने चेतावनीसमेत दिएका छन्।

देउवा समूहको राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका कञ्चनपुरका नेता तथा कार्यकर्तासँग सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्टमा भएको छलफलमा लेखकले पार्टी एकताका लागि अब सभापति थापाले नै अग्रसरता लिनुपर्ने बताए।

‘मिलाउने जिम्मेवारी अब गगनजीको छ। मिलाउन नलागे जे पनि हुन सक्छ,’ लेखकले भने।

उनले पार्टीलाई मिलाउन देउवा समूहले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको दाबी गर्दै त्यसमा कुनै कमी नरहेको बताए। पार्टीभित्रको विवाद समाधान गर्न पूर्वसभापति शेरबहादुर देउवाले समेत आवश्यक त्याग गरेको उनको भनाइ थियो।

लेखकका अनुसार पार्टीलाई एकढिक्का बनाउन देउवाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुका साथै निर्वाचन प्रयोजनका लागि आवश्यक हस्ताक्षर गर्ने अधिकारसमेत दिएका थिए।

‘शेरबहादुर दाइको हस्ताक्षरमा चुनाव जित्न नसकिने कुरा आयो। त्यत्रो बहुमत प्राप्त गरेर जितेका सभापतिलाई तपाईं टिकटमा हस्ताक्षर नगर्नुस् भन्नु सजिलो थियो र?’ उनले प्रश्न गर्दै भने, ‘तर पार्टी मिलाउनका लागि हस्ताक्षर छोडिदिनुस् भन्यौं। उहाँले पूर्णबहादुर दाइलाई छोडिदिनुभयो।’

लेखकले कञ्चनपुरका नेता–कार्यकर्तालाई पार्टीको सदस्यता अद्यावधिक गरेका नेता तथा कार्यकर्तासँग सम्पर्क बढाउँदै आफ्नो पक्षमा संगठित हुन पनि आग्रह गरे। सदस्यता अद्यावधिक गरेका र नगरेकाबीच विभाजनको अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो।

‘अद्यावधिक गरेकासँग सम्पर्क बढाउनुस्। हामी उभिएको ठाउँमा ल्याउनुस्,’ उनले भने, ‘आजदेखि अद्यावधिक गरेका र नगरेकाहरू अलग हुने कुरा छैन।’

उनले कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीलाई दसैं–तिहारको बीचमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा कार्यक्रम आयोजना गर्न तयारी गर्नसमेत आग्रह गरे।

‘सम्भव भए दसैं–तिहारको बीचमा जिल्लामा कार्यक्रम राख्नुहोला। एनपीजी (एनपी साउद) र मसँगै आउँछौं,’ लेखकले भने, ‘तीनवटै क्षेत्रमा घुमौंला।’

लेखकको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको गुटगत विवाद र पार्टी एकताको विषयमा नेतृत्वमाथि दबाब बढाउन खोजिएको संकेत गरेको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com