काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती र लुम्बिनी प्रदेशमा सोमबार हुने सरकारको विश्वासको मतसम्बन्धी मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेशमा सरकार गठनसम्बन्धी पार्टीको अर्को निर्णय नआएसम्म तटस्थ रहन सम्बन्धित प्रदेशका संसदीय दलका नेतालाई निर्देशन दिएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विश्वासको मतका क्रममा पार्टीको नीति र निर्णयविपरीत सांसदहरू नजाऊन् भनेर सम्बन्धित संसदीय दलका नेतालाई प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न निर्देशन दिइएको छ।

प्रवक्ता श्रेष्ठले भने, ‘राप्रपाले आज विश्वासको मत लिन लागेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। यस विषयमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ।’

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत लिँदैछन्।

राप्रपाले प्रदेश सरकार गठन तथा सत्ता समीकरणका विषयमा थप निर्णय नभएसम्म दुवै प्रदेशमा तटस्थ भूमिका निर्वाह गर्ने जनाएको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com