काठमाडौं । नेकपा एमालेकी सांसद यशुदा बरालले मन्त्री र सर्वसाधारण नागरिकको उपचारमा सरकारले विभेद गरेको आरोप लगाउँदै आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बरालले पहुँचवाला र सर्वसाधारणबीच राज्यको स्वास्थ्य सेवा समान हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल बिरामी भएपछि आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको घटनालाई उल्लेख गर्दै उनले मन्त्रीका लागि तत्काल उद्धारको व्यवस्था हुने तर सर्वसाधारणले अस्पतालमा आवश्यक आधारभूत सुविधा समेत नपाउने अवस्था रहेको बताइन्।
‘मन्त्री बिरामी हुँदा हेलिकोप्टर पुग्छ, तर जनताले अस्पतालमा स्टेचरसमेत पाएका छैनन्,’ उनले भनिन्, ‘मैले भौतिक पूर्वाधार मन्त्रीलाई हेलिकोप्टरबाट उद्धार गर्न हुँदैन भन्न खोजेकी होइन। तर सरकारले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ। हरेक बिरामीले समयमै उपचार पाउने व्यवस्था हुनुपर्छ।’
सांसद बरालले स्वास्थ्य उपचारमा मात्र नभई दैनिक उपभोग्य वस्तुको उपलब्धतामा समेत सर्वसाधारणले सास्ती खेपिरहेको बताइन्। बजारमा खाना पकाउने ग्यासको अभाव र कालोबजारीप्रति सरकार गम्भीर बन्नुपर्ने उनको माग थियो।
‘सुत्केरीहरू दिनभर लाइन बस्दा पनि ग्यास पाएका छैनन्। बिरामीहरू घण्टौँ लाइनमा बस्दा पनि रित्तो हात फर्किनुपरेको छ,’ उनले भनिन्।
सरकारको सुशासन र सेवा प्रवाह कमजोर बन्दै गएको आरोप लगाउँदै बरालले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारीबाट सरकार पन्छिन नहुने बताइन्।
उनले प्रश्न गरिन्, ‘के भएको सरकार ? जनताले कहिलेसम्म यस्तो सास्ती भोग्नुपर्ने हो?’
नागरिकको स्वास्थ्य उपचारदेखि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिसम्मका विषयमा राज्य गम्भीर र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिइन्।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया