काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।
नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको सैन्य परम्पराअनुसार दुवै देशका स्थल सेनाध्यक्षलाई एक–अर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ। यही परम्परालाई निरन्तरता दिँदै भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

तीनदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपराह्न काठमाडौँ आइपुगेका थिए। भ्रमणका क्रममा उनले नेपाली सेनासँगको सम्बन्ध, द्विपक्षीय सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
मानार्थ महारथीको दर्जा प्रदान गर्ने समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतसहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया