काठमाडौं । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै पत्रकार किशोर श्रेष्ठ आजै रिहा हुने भएका छन्।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार श्रेष्ठलाई हिरासतबाट मुक्त गरी बाहिरै राखेर अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो।

अदालतको आदेश कार्यान्वयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न श्रेष्ठलाई महाराजगञ्जस्थित प्रहरी कार्यालयमा लगिने भएको छ। त्यहाँ आवश्यक सहिछापलगायतका प्रक्रिया पूरा गरेपछि उनलाई आजै रिहा गरिने अदालत प्रशासनले जनाएको छ।

जनआस्था अनलाइनका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो।

श्रेष्ठमाथि  वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको  आरोपमा अनुसन्धान भइरहेको थियो। सोही आरोपमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

तर, श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको ठहर गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com