काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारको राहत तथा स्वास्थ्य सेवा व्यवस्थापनप्रति प्रश्न उठाउँदै मन्त्री र सर्वसाधारण नागरिकबीच राज्यले विभेद गरेको आरोप लगाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सामान्य नागरिकले सिटामोलसमेत सहज रूपमा नपाउने, सुत्केरीले समयमै अस्पताल पुग्न नसक्ने अवस्था रहेको तर मन्त्री बिरामी पर्दा राज्यले लाखौँ रुपैयाँ खर्च गरेर हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने गरेको भन्दै आपत्ति जनाइन्।

‘जनताले राहत पाउँदैनन् । सिटामोल पाउँदैनन् । सुत्केरीले समयमा अस्पताल पाउँदैनन्,’ उनले भनिन्, ‘काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौँ खर्च गरेर काठमाडौं ल्याइन्छ।’

मन्त्रीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सरकारले विपद् वा समस्यामा परेका नागरिकलाई तीन लाख रुपैयाँसम्मको राहतसमेत दिन नसकेको उनको आरोप थियो।

थापाले राज्यले सबै नागरिकको जीवनलाई समान महत्त्व दिनुपर्नेमा जोड दिँदै भनिन्, ‘कान खोलेर सुन्नुस् । मन्त्रीको जीवन जति मूल्यवान छ, कर्णालीका नागरिकको जीवन पनि त्यति नै मूल्यवान छ।’

पछिल्लो समय पूर्वाधार विकासमन्त्रीलाई भाइरल ज्वरो आएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको विषयमा सार्वजनिक रूपमा चर्चा र आलोचना भइरहेको छ। सोही प्रसंगलाई लिएर थापाले सरकारको प्राथमिकता र नागरिकप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाएकी हुन्।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com