काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना न्यौपानेले स्वास्थ्य बिमा कार्यक्रम रोकिँदा सर्वसाधारण नागरिक उपचारबाट प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद न्यौपानेले स्वास्थ्य बिमा कार्यक्रम जुनसुकै उपाय अपनाएर भए पनि पुनः सञ्चालन गर्नुपर्ने बताइन्।

“स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो,” उनले भनिन्।

त्यसैगरी, उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको थापाथलीमा निर्माण गर्न लागिएको भनिएको फोहोर प्रशोधन केन्द्रप्रति पनि चासो व्यक्त गरिन्। उक्त स्थानमा के निर्माण हुन लागेको हो भन्नेबारे स्पष्ट सूचना नदिइए पनि संरचना निर्माणको तयारी भइरहेको भन्दै स्थानीयवासीले विरोध गरिरहेको उनले बताइन्।

न्यौपानेले फोहोर प्रशोधन केन्द्र निर्माणका विषयमा स्थानीयको सरोकारलाई सम्बोधन गर्नुपर्ने बताउँदै विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरबारे संवेदनशील हुन सरकारलाई आग्रह गरिन्।

“के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ,” उनले भनिन्, “त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन्। आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ।”

यसैगरी, गत भदौ २४ गतेको घटनामा सुन लुटिएपछि समस्यामा परेका ऋणीहरूको विषय पनि उनले संसद्मा उठाइन्। राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका केही व्यक्तिको सुन नै लुटिएपछि उनीहरूले न सुन फिर्ता पाउन सकेको र न त्यसबापतको रकम प्राप्त गर्न सकेको भन्दै न्यौपानेले उनीहरूको समस्या समाधानका लागि पहल गर्न सरकारसँग आग्रह गरिन्।

उनले पीडितहरूको गुनासो सुनेर आवश्यक राहत तथा समाधानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com