काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो अध्ययन तथा छानबिन पूरा गरी प्रतिवेदन सरकारलाई बुझाएको छ।

गत साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेस प्रदेशका अन्य क्षेत्रमा समेत देखिएको थियो। उक्त घटनामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

घटनामा कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए।

त्यसको केही दिनपछि साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।

सरकारले दुवै घटनाको वास्तविक अवस्था, कारण तथा घटनाक्रमबारे स्थलगत अध्ययन र छानबिन गर्न छुट्टाछुट्टै समिति गठन गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष छानबिन प्रतिवेदन बुझाएका छन्।

‘दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको छ। त्यसमा भएको निष्कर्ष र सिफारिस अध्ययनको क्रममा छ,’ प्रवक्ता काफ्लेले बताए।

देवानगञ्जको कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा गठित समितिले छानबिन गरेको थियो। त्यस्तै, सिरहाको गोलबजार घटनाको छानबिन गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गरेको थियो।

दुवै समितिले घटनाको स्थलगत अध्ययन तथा अनुसन्धानपछि निष्कर्ष र आवश्यक सिफारिससहित प्रतिवेदन सरकारसमक्ष पेस गरेका हुन्। गृह मन्त्रालयले अब प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष तथा सिफारिस अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com