काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत कदम तथा गतिविधिमा प्रतिपक्षले कुनै पनि हालतमा समर्थन गर्न नसक्ने स्पष्ट पारेकी छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षका तर्फबाट धम्कीपूर्ण भाषा प्रयोग भइरहेको भन्दै आपत्ति जनाइन्। सरकारको संरक्षणमा गुण्डागर्दी भइरहेको आरोप लगाउँदै उनले सत्तापक्षका सांसदबाट आउने धम्कीपूर्ण अभिव्यक्ति स्वीकार्य नहुने बताइन्।

उनले सरकार एकातिर धम्की दिने र अर्कोतिर आफैँ त्यसको समाधानकर्ता बनेर प्रस्तुत हुने शैलीमा अघि बढेको आरोप लगाइन्। यस्तो व्यवहारलाई राजनीतिक नाटकको संज्ञा दिँदै उनले त्यसलाई प्रतिपक्षले स्वीकार नगर्ने स्पष्ट पारिन्।

सांसद खातुनले सरकारको संरक्षणमा हुने कुनै पनि प्रकारको गुण्डागर्दी र दबाबविरुद्ध प्रतिपक्ष दृढतापूर्वक उभिने बताइन्।

उनले प्रतिपक्ष जस्तोसुकै कठिन परिस्थिति सामना गर्न र आवश्यक परे बलिदान दिनसमेत तयार रहेको उल्लेख गर्दै सरकारका गलत काममा भने समर्थन गर्न नसकिने दोहोर्‍याइन्।

सरकारले धम्की, दबाब र बल प्रयोगको बाटो छाडेर लोकतान्त्रिक मूल्य, विधिको शासन र संसदीय मर्यादाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com