काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा असन्तुष्टि जनाउँदै थप स्पष्टीकरण माग गर्न खोजेपछि प्रतिनिधिसभामा सभामुख डोलप्रसाद अर्यालले उनलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद तामाङले यसअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए। मन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै तामाङले थप प्रश्न तथा स्पष्टीकरण राख्न समय माग गरेकी थिइन्।
तर, सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावलीमा रहेको व्यवस्थाअनुसार मन्त्रीको जवाफपछि तत्काल थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए।
सभामुखले आसन ग्रहण गर्न पटक–पटक आग्रह गरे पनि सांसद तामाङले आफूले थप प्रश्न राख्न पाउनुपर्ने अडान कायम राखिन्। त्यसपछि सभामुख अर्यालले उनलाई संसद्को मर्यादा, अनुशासन र गरिमालाई ध्यान दिन निर्देशन दिए।
थप प्रश्न राख्ने अनुमति नपाएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन्।
मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग गर्ने विषयलाई लिएर केही समय प्रतिनिधिसभाको बैठकमा विवादको अवस्था सिर्जना भएको थियो।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया