काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न हुने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महाधिवेशनका लागि विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने क्रममा सभापति थापाले अब महाधिवेशनका लागि समय पर्याप्त नरहेकाले निर्धारित कार्यतालिकाअनुसार काम अघि बढाउन निर्देशन दिए।
उनले पार्टीको विधान, नेपालको संविधान, विशेष महाधिवेशनबाट भएको निर्णय तथा अदालतको फैसलासमेतका कारण असोज १६ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने अवस्था रहेको स्पष्ट पारे।
‘हामीसँग अब समयको सुविधा छैन। हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनको निर्णय र अदालतको फैसलाबाट पनि बाँधिएका छौँ,’ थापाले भने, ‘अदालतको फैसलामा पनि असोज १६ गतेदेखि महाधिवेशन हुने भन्ने आधार बनाइएको छ। त्यसैले थोरै समयमा धेरै काम गर्नुपर्नेछ।’
सभापति थापाका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन हुनेछ।
केन्द्रीय महाधिवेशनअघि सम्पन्न गर्नुपर्ने तल्लो तहका अधिवेशन तथा निर्वाचनहरू भने निर्वाचन समितिले तय गर्ने कार्यतालिकाअनुसार अघि बढ्ने उनले बताए। निर्वाचन अधिकृतहरूले आ–आफ्नो जिम्मेवारीअनुसार तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा गर्नुपर्नेमा उनले जोड दिए।
पार्टीभित्र विभिन्न विषयमा असहमति राख्दै आएका नेताहरूसँग आफू निरन्तर संवादमा रहेको पनि थापाले बताए। महाधिवेशनको निष्पक्षता र पारदर्शिताबारे उठेका विषयमा आवश्यक छलफल गर्न आफू तयार रहेको उनको भनाइ छ।
‘कतिपय कुरामा चित्त बुझाइरहनुभएको छैन, म उहाँहरूसँग संवादमा छु,’ थापाले भने।
उनले राजनीतिक विषयमा छलफल र बहस भइरहे पनि अब महाधिवेशनको प्रक्रिया रोक्ने अवस्था नरहेको स्पष्ट पारे।
‘राजनीतिक कुराहरूमा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन। महाधिवेशन प्रक्रिया सुरु भयो,’ निर्वाचन अधिकृतहरूलाई थापाले भने, ‘अब निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, हामी सबैले त्यसैलाई पछ्याउने हो।’
सभापति थापाले निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन निर्वाचन समितिलाई आवश्यक सहयोग गर्न पार्टीका सबै तह र पक्षलाई आग्रहसमेत गरेका छन्।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया