काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा फ्रेन्चाइज टोलीहरू विदेशी खेलाडी अनुबन्धमा जुटेका छन्। अधिकांश टोलीले अघिल्ला संस्करणमा प्रभावशाली प्रदर्शन गरेका विदेशी खेलाडीलाई नै निरन्तरता दिने तयारी गरेका छन्।
सुदूरपश्चिम रोयल्सले इंग्ल्यान्डका सेफ अली जैब र न्यूजील्यान्डका स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ। जनकपुर बोल्ट्सले भारतीयमूलका अमेरिकी अलराउन्डर हरमित सिंहलाई कप्तानको जिम्मेवारीसहित टोलीमा भित्र्याएको छ।
गत संस्करणको विजेता लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलालाई निरन्तरता दिएको छ। चितवन राइनोजले इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारालाई अनुबन्ध गरेको छ भने पाकिस्तानका पूर्वतेज बलर सोहेल तनवीरलाई प्रशिक्षक नियुक्त गरेको छ।
पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक बनाएको छ। उसले श्रीलंकाकै अलराउन्डर धनञ्जय लक्षणलाई पनि पुनः टोलीमा राखेको छ।
काठमाडौं गोर्खाज, विराटनगर किंग्स र कर्णाली याक्सले भने अहिलेसम्म विदेशी खेलाडीको नाम सार्वजनिक गरेका छैनन्। उनीहरू विदेशी खेलाडीसँग सम्झौताको छलफलमा छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगितामा यसपटक पनि आठ टोली सहभागी हुनेछन्।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया