बारा । सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी मंगलबार साँझ भक्तिनगरस्थित एक घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। खोजी गर्ने क्रममा मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमान्डमा समेत थप प्रहरी टोली परिचालन गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक, जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा पुर्‍याएपछि थापाले बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सहचालक थापासहित म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई समेत पक्राउ गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com