काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ।

कांग्रेस केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि असन्तुष्ट बनेको देउवा पक्षले विवादित विषय अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने तर्क गरेको छ।

देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भइरहेको छ। कानुनी तयारी पूरा गरेर सम्भव भएसम्म बुधबार नै अदालत जाने र नभए एक–दुई दिनभित्र मुद्दा दायर गर्ने तयारी रहेको उनले बताए।

यसअघि देउवा पक्षको भेलाले पार्टी सभापति गगन थापाको नेतृत्व अस्वीकार गर्दै १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो।

यता कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन माग गर्दै निर्वाचन आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाइसकेका छन्।

तर सभापति गगन थापा भने निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। असन्तुष्ट पक्षलाई समेट्ने प्रयासस्वरूप कार्यतालिका केही पर सारिए पनि पार्टीभित्रको विवाद समाधान हुन सकेको छैन।

यससँगै कांग्रेसको महाधिवेशन विवाद अब पार्टीभित्रको राजनीतिक संघर्षसँगै सर्वोच्च अदालतसम्म पुग्ने अवस्थामा पुगेको छ।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com