काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पुनः प्रत्यक्ष भेटवार्ताको तयारी भइरहेको छ।
रिपोर्टअनुसार ट्रम्पले आफ्ना अधिकारीहरूसँग यसै वर्ष नोभेम्बरमा किमसँग शिखर वार्ता गर्ने सम्भावनाबारे छलफल गरिरहेका छन्। ट्रम्पको प्रस्तावित एसिया भ्रमणका क्रममा चीनको शेनजेनमा हुने एपीईसी शिखर सम्मेलनको आसपास भेटवार्ता हुन सक्ने बताइएको छ।
दुवै नेताबीच सम्भावित भेटवार्ता यस्तो समयमा अघि बढेको हो, जब कोरियाली प्रायद्वीपमा अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाबीचको सैन्य तनाव पुनः चर्चामा छ।
ट्रम्पले हालै दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यास सीमित गर्न निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्ता अभ्यास खर्चिलो भएको र उत्तर कोरियालाई अनावश्यक रूपमा शत्रुतापूर्ण सन्देश जाने दाबी गरेका छन्।
यसैबीच ट्रम्पले किमले आफूले गरेको सम्पर्कको जवाफ दिएको दाबी गरेका छन्। किमले जवाफ नदिएको भन्ने प्रश्नमा ट्रम्पले ‘तपाईंलाई कसरी थाहा भयो?’ भन्दै किमसँग सम्पर्क भएको संकेत गरेका थिए। उनले उक्त संवादलाई ‘अत्यन्तै सकारात्मक’ समेत बताएका छन्। तर, कुराकानीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
उत्तर कोरियाले भने ट्रम्पको दाबीबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।
तीन भेटपछि फेरि वार्ताको तयारी
ट्रम्प र किमबीच यसअघि तीनपटक ऐतिहासिक भेट भइसकेको छ।
- सिङ्गापुर, जुन २०१८ — पहिलो ऐतिहासिक शिखर वार्ता।
- हनोई, फेब्रुअरी २०१९ — आणविक निशस्त्रीकरण र प्रतिबन्धका विषयमा सहमति नजुट्दा वार्ता निष्कर्षविहीन।
- डीएमजेड, जुन २०१९ — ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला राख्दै किमसँग अचानक भेट गरेका थिए।
यदि प्रस्तावित भेटवार्ता सफल भयो भने करिब सात वर्षपछि ट्रम्प र किम पुनः आमनेसामने हुनेछन्। यसले उत्तर कोरियाको आणविक कार्यक्रम, अमेरिका–उत्तर कोरिया सम्बन्ध र कोरियाली प्रायद्वीपको सुरक्षा समीकरणमा नयाँ कूटनीतिक हलचल ल्याउन सक्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया