काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।

बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आयोगले भ्रष्टाचार नियन्त्रण गर्नुको साटो न्यायालय र बिचौलिया उत्पादन गर्ने संस्थाको स्वरूप लिँदै गएको टिप्पणी गरे।

उनले अख्तियार प्रधानमन्त्रीको मातहतमा नरहेको स्मरण गराउँदै आयोगका पदाधिकारीले कार्यपालिकाको दबाब वा प्रभावमा पर्न नहुने बताए।

‘अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन,’ सिंहले भने, ‘अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ।’

संवैधानिक निकायमा राजनीतिक भागबन्डाको अन्त्य गर्नुपर्ने माग गर्दै उनले त्यस्ता संस्थालाई पूर्वकर्मचारीहरूको क्लब वा राजनीतिक स्वार्थ पूरा गर्ने थलो बन्न दिन नहुने धारणा राखे।

सांसद सिंहले निजगढ विमानस्थलका लागि भएको जग्गा अधिग्रहणमा ठूलो आर्थिक अनियमितता भएको दाबी गर्दै त्यस विषयमा अख्तियारले प्रभावकारी छानबिन नगरेको आरोप लगाए।

उनले आयोजना निर्माणमा लाग्ने अनुमानित लागतको तुलनामा जग्गा अधिग्रहणमै ठूलो रकम खर्च भएको भन्दै अख्तियारको निष्क्रियतामाथि प्रश्न उठाए।

‘७–८ अर्बमा बनेको योजनामा २३ अर्ब जग्गा अधिग्रहणमै मात्र पैसा दिइएको छ,’ उनले भने, ‘जहाँ नेता र उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, त्यहाँ अख्तियारले केही नगर्ने, साना मान्छेलाई मात्रै दुःख दिने?’

सिंहले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै ठूला अनियमिततामा समेत समान रूपमा अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने बताए।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com