काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सांसदहरूलाई चर्को आवाजभन्दा तथ्य र प्रमाणका आधारमा बहस गर्न सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले ठूलो स्वरमा प्रस्तुत हुँदैमा तर्क बलियो नहुने बताए।

‘आवाज ठूलो हुँदैमा तर्क र तथ्य ठूलो हुन्छ भन्ने होइन, कहिलेकाहीँ प्रमाण यति बलिया हुन्छन् कि हामीले मुख रातो पारेर केही हुँदैन,’ उनले भने।

लामिछानेले संवेदनशील विषयमा बोल्दा समितिको गरिमा र सांसदको पदको मर्यादालाई समेत ध्यान दिन आग्रह गरे।

‘केही समितिहरू निकै संवेदनशील हुन्छन्। त्यो संवेदनशीलतालाई मध्यनजर गरेर कुरा राखे समितिको गरिमा पनि रहन्छ र हाम्रो पदको गरिमा पनि रहन्छ,’ उनले भने।

आरोप लाग्दैमा दोषी नठहर्‍याउन आग्रह

लामिछानेले सञ्चारमाध्यममा आएका समाचार, आरोप वा बयानमा कसैको नाम जोडिँदैमा तत्काल दोषी ठहर गर्ने प्रवृत्ति गलत भएको बताए।

उनले अदालतमा विचाराधीन विषय, अनुसन्धानका क्रममा आएका नाम तथा सञ्चारमाध्यममा प्रकाशित शंकास्पद विषयलाई संवेदनशील ढंगले हेर्नुपर्नेमा जोड दिए।

‘आरोपमै सीमित रहेका विषय वा छापामा आएका विषयलाई हेर्नेबित्तिकै हामीले बडो ध्यान दिनुपर्छ,’ उनले भने।

व्यक्तिको निजी जीवन र राज्यका संवेदनशील निकायसँग जोडिएका विषयमा तथ्य पुष्टि नगरी धारणा बनाउँदा संस्थाको गरिमामा असर पर्न सक्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com