काठमाडौं । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले साढे दुई वर्षपछि सुनुवाइका लागि पेसी तोकेको छ।

रेशमलाई आममाफी दिने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुने भएको छ। लामो समयदेखि सुनुवाइ हुन नसकेको उक्त मुद्दालाई अग्राधिकार दिँदै पेसी तोकिएको हो।

चौधरीले आममाफी पाएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, मुद्दालाई अग्राधिकारसमेत प्रदान गरिएको थियो।

सर्वोच्चको आदेशअनुसार सरकारका सम्बन्धित निकायले २०८० साउन ८ गतेभित्रै लिखित जवाफ पेस गरेका थिए। तर, लिखित जवाफ पेस भएको लामो समयसम्म पनि मुद्दा सुनुवाइका लागि इजलासमा पेस हुन सकेको थिएन।

कारण देखाऊ आदेश जारी भएको साढे दुई वर्षपछि बल्ल रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिट सुनुवाइको चरणमा पुगेको हो।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com