काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन्। नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. जोशीले यसअघि पनि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्व तहमा रहेर काम गरिसकेका छन्।
डा. जोशीले सन् २००० मा युक्रेनस्थित ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस गरेका हुन्। त्यसपछि सन् २००९ मा नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन्। उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीसम्बन्धी फेलोसिपसमेत पूरा गरेका छन्।
जोशीले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। परिषद्को नेतृत्व तहमा काम गरिसकेको अनुभवसँगै उनीसँग स्वास्थ्य सेवा व्यवस्थापन र प्रशासनिक क्षेत्रको समेत अनुभव रहेको छ।
यसअघि उनले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए।
प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार













प्रतिक्रिया