काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको छुट्टाछुट्टै रिट शुक्रबार दर्ता हुन सकेन।

संस्थापन पक्षले एकपक्षीय रूपमा अघि बढाएको महाधिवेशन प्रक्रिया तथा कार्यतालिका रोक्न माग गर्दै देउवा र खड्काका तर्फबाट वारेसमार्फत रिट पेस गरिएको थियो।

सर्वोच्च प्रशासनले रिटको अध्ययन पूरा नभएको भन्दै शुक्रबार दर्ता नगरेको जनाएको छ। दुवै रिट शुक्रबार दिउँसो खाजा समयपछि सर्वोच्चमा पेस भएका थिए।

स्रोतका अनुसार शुक्रबार प्रधानन्यायाधीश डा. मनोज शर्मा र मुख्य रजिस्ट्रार विमल पौडेल सर्वोच्च अदालतमा उपस्थित थिएनन्। रिटको विषय महत्वपूर्ण रहेकाले प्रशासनका प्रमुख अधिकारीहरूको अनुपस्थितिमा दर्ता प्रक्रिया अघि नबढाइएको स्रोतको दाबी छ।

सर्वोच्च प्रशासनले रिट पेस गर्न पुगेका प्रतिनिधिहरूलाई सोमबार पुनः आउन भनेको छ।

देउवाका तर्फबाट कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमारले वारेसका रूपमा सर्वोच्चमा रिट पेस गरेका थिए।

रिटमा कांग्रेसको १५औँ महाधिवेशनसम्बन्धी संस्थापन पक्षले अघि बढाएको प्रक्रिया तथा कार्यतालिका कार्यान्वयनमा रोक लगाउन उत्प्रेषणको आदेश माग गरिएको छ।

पार्टीभित्र महाधिवेशनको प्रक्रिया र कार्यतालिकालाई लिएर संस्थापन तथा इतर पक्षबीच विवाद चर्किरहेका बेला देउवा र खड्काले त्यसविरुद्ध न्यायिक बाटो रोजेका हुन्।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com