काठमाडौँ । नेपालमा विकास भएको एआई–आधारित व्यावसायिक सञ्चार प्रविधि टिङटिङ (TingTing) अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने क्रम तीव्र बनेको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले विकास गरेको टिङटिङले श्रीलङ्काको सबैभन्दा ठूलो तथा अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको हो।

सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि प्रिक्साका सीईओ शर्माले डायलगजस्तो बलियो अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्न पाउनु उत्साहजनक रहेको बताए। उनका अनुसार यो साझेदारी व्यावसायिक सहकार्यमा मात्र सीमित नभई नेपाल र श्रीलङ्काबीच प्रविधि तथा नवप्रवर्तनको बलियो इकोसिस्टम निर्माण गर्नसमेत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

टिङटिङले श्रीलङ्काली बजारमा आफ्नो ‘टिङटिङ कम्युनिकेसन सुइट’ अन्तर्गत चार प्रमुख उत्पादन कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट्स उपलब्ध गराएको छ। यी सबै उत्पादन एउटै आर्किटेक्चरमा आधारित छन्।

टिङटिङ कनेक्ट संस्थाको आफ्नै पूर्वाधारमा जडान गर्न सकिने तथा ‘द बक्स’ अन–प्रिमाइस उपकरणमार्फत डेटा संस्थाभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने प्रणाली हो।

त्यस्तै, टिङटिङ ओम्नीले ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएसलगायत विभिन्न डिजिटल माध्यमबाट आउने ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्छ।

टिङटिङ ब्रोडकास्टमार्फत हजारौँ ग्राहकसम्म एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना, सन्देश तथा रिमाइन्डर पठाउन सकिन्छ। यसले ठूलो संख्यामा ग्राहकसँग एकैपटक प्रभावकारी रूपमा सञ्चार गर्न व्यवसायलाई सहज बनाउने कम्पनीको दाबी छ।

यसैगरी, टिङटिङ एजेन्ट्सले स्थानीय भाषामा ग्राहकसँग प्रत्यक्ष संवाद गर्न तथा आवश्यक परेको अवस्थामा संवादलाई मानव एजेन्टतर्फ हस्तान्तरण गर्न सक्ने सुविधा प्रदान गर्छ।

टिङटिङका सेवा तथा सुविधाहरू नेपाली भाषाका साथै अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलङ्काली बजारमा सेवा थप प्रभावकारी बनाउन कम्पनीले तमिल र सिंहली भाषाका लागि उन्नत भ्वाइस मोडलिङ विकास गर्ने कामलाई समेत तीव्रता दिएको जनाएको छ।

एआई, स्वचालन र बहु–च्यानल सञ्चारलाई एकीकृत गर्दै आएको टिङटिङले व्यवसायलाई ग्राहक पहुँच, संवाद व्यवस्थापन, स्वचालन, स्केलेबिलिटी तथा ग्राहक बुझाइमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

नेपाल सूचना प्रविधि तथा सफ्टवेयर निर्यातको सम्भावनायुक्त केन्द्रका रूपमा अघि बढिरहेका बेला नेपाली कम्पनीले श्रीलङ्काको प्रमुख दूरसञ्चार कम्पनीसँग गरेको यो सहकार्यलाई नेपाली टेक उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Built in Nepal, For the World’ अर्थात् ‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणाका साथ अघि बढेको टिङटिङको अन्तर्राष्ट्रिय विस्तारले नेपाली स्टार्टअप तथा प्रविधि कम्पनीहरूले विश्वस्तरीय उत्पादन विकास गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावनालाई समेत उजागर गरेको छ।

श्रीलङ्कापछि अन्य अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो सेवा विस्तार गर्ने दिशामा टिङटिङको यो सहकार्यलाई नेपाली प्रविधिको विश्व बजार प्रवेशको महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com