काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाही गरिने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै गुरुङले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको र मुख्य आरोपितहरू पक्राउ परिसकेको जानकारी दिए।

पीडित परिवारको थप जाहेरीका आधारमा चार जनालाई समेत पक्राउ गरी सोधपुछ भइरहेको उनले बताए। घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट भएको भनिएको लापरबाहीबारे समेत छानबिन र कारबाही अघि बढाइएको उनको भनाइ छ।

दोषीलाई तत्काल मृत्युदण्ड दिनुपर्ने माग उठिरहेकोप्रति संकेत गर्दै गृहमन्त्री गुरुङले नेपालको संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण तत्काल मृत्युदण्ड दिन सकिने कानुनी व्यवस्था नरहेको स्पष्ट पारे।

यद्यपि बालबालिका तथा महिलाविरुद्ध हुने जघन्य अपराधमा कडा सजाय सुनिश्चित गर्न कानुनी संशोधनको तयारी भइरहेको उनले बताए। उनका अनुसार कानुनमन्त्री सोबिता गौतमले आवश्यक संशोधनको मस्यौदा तयार गरी संसदीय प्रक्रियामा लैजाने तयारी गरेकी छन्।

गृहमन्त्री गुरुङले घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com