काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई डेढ वर्षदेखि एकै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट लगातार फोन गरेर हैरानी दिइरहेको गुनासो गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले फोन उठाउँदा ती व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने गरे पनि फोन गर्नुको कारण स्पष्ट नबताउने गरेको उल्लेख गरेकी छन्।
अधिकारीका अनुसार एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट पुनः फोन आउने क्रम जारी छ। डेढ वर्षको अवधिमा करिब ५०० वटा फरक नम्बरबाट आएका कल ब्लक गरिसकेको उनले बताएकी छन्।
उनले आफ्नो नम्बर माग्ने जोसुकैलाई कारण नबुझी नम्बर नदिन आग्रह गरेकी छन्। साथै, सम्बन्धित व्यक्तिलाई आफ्नो नम्बर उपलब्ध गराउनेहरूले पनि सोचविचार गरेर मात्र दिन अनुरोध गरेकी छन्।
यस्तो व्यवहार रोक्ने उद्देश्यले आफूले विषय सार्वजनिक गरेको स्पष्ट पार्दै अधिकारीले आफ्नो पोस्ट कसैलाई अनावश्यक आरोप लगाउनका लागि नभएको बताएकी छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया