काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यम गर्दागर्दै व्यवसाय बिग्रिएका वा अनजानमा चेक बाउन्स भएर बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका करिब १ लाख ७० हजार नागरिकलाई राहत दिने तयारी भइरहेको बताएका छन्।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा नागरिकका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले कालोसूचीसम्बन्धी समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकसँग पहल अघि बढाइएको जानकारी दिए।
उनका अनुसार कानुनी दायराभित्र रहेर कालोसूचीमा परेका नागरिकलाई राहत दिने विषयमा काम भइरहेको छ। नवनियुक्त डेपुटी गभर्नर दीर्घ रावललाई समेत आफूले पहिलो प्राथमिकताका रूपमा यही विषयमा काम गर्न निर्देशन दिएको उनले बताए।
वाग्लेले ‘ब्ल्याकलिस्टको दुश्चक्रमा अन्जानमा फसेका’ नागरिकलाई राहत दिने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिए।
यसैगरी, बजारमा माग घटेर आर्थिक गतिविधिमा शिथिलता आएको भन्दै सरकारले युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न कर छुटको दायरा बढाएको उनले बताए।
अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको अन्त्यसम्म ५ हजार मेगावाट र आगामी ८–९ वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यसमेत रहेको जानकारी दिए।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया