काठमाडौं। अमेरिका र क्यानडाबीचको व्यापार सम्झौता वार्ता असफल भएपछि दुई देशबीच व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा ५० प्रतिशत भन्सार महसुल लागू गरेका छन्।
वासिङ्टन डीसीमा तीन दिनसम्म चलेको व्यापार वार्ताबाट सम्झौता हुन नसकेपछि शनिबार मध्यरातदेखि नयाँ भन्सार महसुल लागू गरिएको हो। यो क्यानडाबाट अमेरिकातर्फ हुने कुल निर्यातको करिब ५ प्रतिशत बराबरको सामानमा लागू हुने बताइएको छ।
भन्सार महसुल लागू भएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकालाई जवाफी कारबाही गर्ने चेतावनी दिएका छन्। उनले अमेरिकाले जति भन्सार लगाउँछ, क्यानडाले पनि त्यति नै मूल्य बराबरको अमेरिकी सामानमा भन्सार लगाउने बताएका छन्।
अमेरिकाको आरोप : क्यानडाले अवसर गुमायो
वार्ता असफल भएपछि अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) ले क्यानडाले अमेरिकासँग सम्झौता गर्ने महत्वपूर्ण अवसर गुमाएको दाबी गरेको छ।
यूएसटीआरका अनुसार अमेरिकाले क्यानडालाई अन्य ठूला निर्यातकर्ता राष्ट्रको तुलनामा निकै राम्रो प्रस्ताव दिएको थियो। तर क्यानडाले नयाँ माग अघि सारेको र यसअघि गरिएका केही प्रतिबद्धताबाट पछि हटेकाले सम्झौता हुन नसकेको अमेरिकी पक्षको भनाइ छ।
अमेरिकाले सम्झौता भए एयरोस्पेस आपूर्ति शृङ्खलामा सहकार्य, अनुचित व्यापार अभ्यास नियन्त्रण, खनिज क्षेत्रमा सहकार्य तथा अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) सम्बन्धी वार्तामा प्रगति हुने दाबी गरेको छ।
किन बढ्यो अमेरिका–क्यानडा व्यापार तनाव ?
दुई देशबीच लामो समयदेखि अटोमोबाइल, डेरी, मदिरा र काठलगायतका क्षेत्रमा व्यापारिक विवाद रहँदै आएको छ।
कार व्यापारमा विवाद : अमेरिकाले क्यानडाको व्यापार नीतिले अमेरिकी कार कम्पनीलाई क्यानडाको बजारमा समान अवसर नदिएको आरोप लगाउँदै आएको छ। अमेरिकाले क्यानडाको बजार अमेरिकी कार तथा अन्य सामानका लागि थप खुला गर्न माग गरेको छ।
क्यानडाले भने अमेरिकाबाट स्टिल, आल्मुनियम, कार र काठमा लगाइएका भन्सार महसुल हटाउन माग गरेको थियो। तर अमेरिकी पक्ष त्यसमा सहमत हुन सकेन।
डेरी बजारको विषय : क्यानडाले आफ्नो डेरी उद्योगलाई संरक्षण गर्न विदेशी उत्पादनमा विभिन्न प्रतिबन्ध तथा नियम लागू गर्दै आएको छ। अमेरिकाले क्यानडाको बजारमा अमेरिकी दूध, चिजलगायतका डेरी उत्पादनलाई थप पहुँच दिन माग गर्दै आएको छ।
तर क्यानडा आफ्नो डेरी क्षेत्रलाई थप खुला गर्न सहजै तयार नभएपछि यो विषयमा पनि सहमति जुट्न सकेन।
मदिराको बिक्रीमा विवाद : क्यानडाका केही क्षेत्रमा अमेरिकी मदिराको बिक्रीमा लगाइएका प्रतिबन्धलाई पनि अमेरिकाले आफ्ना उत्पादनप्रतिको भेदभावका रूपमा लिँदै आएको छ।
त्यसैगरी, क्यानडाबाट अमेरिका निर्यात हुने ‘सफ्टवुड लम्बर’ अर्थात् काठमा पनि लामो समयदेखि विवाद रहँदै आएको छ।
क्यानडाको ‘डलर-फर-डलर’ जवाफ
ट्रम्प प्रशासनले ५० प्रतिशत भन्सार महसुल लगाएपछि प्रधानमन्त्री कार्नीले क्यानडाले पनि त्यसको समान रूपमा जवाफ दिने बताएका छन्।
‘डलर-फर-डलर’ नीतिको अर्थ अमेरिकाले क्यानडाली सामानमा जति मूल्य बराबरको अतिरिक्त भन्सार लगाउँछ, क्यानडाले पनि अमेरिकी सामानमा त्यति नै मूल्य बराबरको भन्सार लगाउने भन्ने हो।
यसले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्ध थप तनावपूर्ण बनाएको छ। अमेरिका र क्यानडा एकअर्काका प्रमुख व्यापारिक साझेदार भएकाले भन्सार महसुलको वृद्धि दुवै देशको व्यापार, उद्योग तथा उपभोक्ताले तिर्ने सामानको मूल्यमा समेत असर पार्न सक्ने देखिन्छ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया