काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को मुस्ताङ भ्रमणको उद्देश्यबारे सरकारसँग स्पष्टीकरण मागेका छन्।
प्रधानमन्त्री शाह कुनै औपचारिक कार्यक्रम सार्वजनिक नगरी मुस्ताङको लोमान्थाङ पुगेको भन्दै बस्नेतले भ्रमणको उद्देश्य, कार्यक्रम र त्यसबारे सुरक्षा संयन्त्रलाई दिइएको जानकारीबारे प्रश्न उठाएका हुन्।
बस्नेतका अनुसार प्रधानमन्त्री शाहले भ्रमणका क्रममा लो घ्याकर गुम्बा र दामोदर कुण्ड जाने कार्यक्रम रहेको छ। यही सन्दर्भमा उनले केही दिनअघि अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक जे. हार्करले समेत मुस्ताङका विभिन्न गुम्बाको भ्रमण गरेको उल्लेख गर्दै दुई घटनाबीचको सम्बन्धबारे आशङ्का व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले प्रधानमन्त्रीको भ्रमणबारे सरकारले पर्याप्त सूचना सार्वजनिक नगरेको भन्दै पारदर्शितामाथि प्रश्न उठाएका छन्।
‘प्रधानमन्त्रीको भ्रमणबारे कुनै औपचारिक कार्यक्रम सार्वजनिक गरिएको छैन,’ उनले लेखेका छन्, ‘सुरक्षा संयन्त्रलाई समेत जानकारी नगराइएको भनिएको यस भ्रमणको उद्देश्य र कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ।’
सरकारी भ्रमण पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै बस्नेतले विदेशी कूटनीतिज्ञको मुस्ताङ भ्रमणलगत्तै प्रधानमन्त्री पनि सोही क्षेत्रमा पुगेको विषयलाई सामान्य संयोगका रूपमा मात्र लिन नसकिने संकेत गरेका छन्।
‘यो कुनै षड्यन्त्र नभई संयोग मात्र हो भने पनि जनताले उठाएका प्रश्नको जवाफ दिनुपर्छ,’ बस्नेतले भनेका छन्, ‘सरकारी भ्रमणमा पारदर्शिता र जवाफदेहिता हुनैपर्छ।’
उनले प्रधानमन्त्री शाहलाई भ्रमणका विषयमा उत्पन्न आशङ्का चिर्न आग्रह गर्दै मुस्ताङ भ्रमणको वास्तविक उद्देश्य र कार्यक्रम सार्वजनिक गर्न माग गरेका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार













प्रतिक्रिया