काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद अदालतमा पुर्‍याएर नभई आपसी संवाद र सहमतिबाट पार्टी कार्यालयमै समाधान गर्नुपर्ने बताएका छन्।

शनिबार कांग्रेसद्वारा आयोजित ‘ग्रिन रन’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले संस्थापन इतर पक्षका नेताहरूलाई कानुनी लडाइँमा जानुभन्दा वार्ताको टेबलमा बसेर समस्याको निकास खोज्न आग्रह गरेका हुन्।

उनले संविधान र कानुनले अदालत जाने बाटो खुला गरे पनि त्यसबाट पार्टीभित्रको आन्तरिक समस्या दीर्घकालीन रूपमा समाधान नहुने बताए। कांग्रेसलाई नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढाउन सबै पक्षबीच संवाद र एकता आवश्यक रहेको उनको भनाइ छ।

‘अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठामा सँगै बसेर संवाद गरौँ र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔँ,’ शर्माले भने।

आगामी असोजमा पार्टीको महाधिवेशन हुने भएकाले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैलाई समान अवसर रहेको उनले स्पष्ट पारे। विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्व पाँच वर्षकै लागि आएको स्थायी प्रकृतिको नेतृत्व नभएको उनको भनाइ छ।

‘यो विशेष महाधिवेशनपछि पाँच वर्षका लागि आएको नेतृत्व होइन। असोजमा महाधिवेशन हुँदै छ,’ शर्माले भने, ‘को सभापति बन्न चाहनुहुन्छ, को उपसभापति वा महामन्त्री बन्न चाहनुहुन्छ—सबैका लागि ढोका खुला छ।’

पार्टीभित्रका मतभेदलाई कानुनी विवादमा परिणत गर्नुभन्दा आगामी महाधिवेशनलाई अवसरका रूपमा लिएर लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com