काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा सत्तामा पुगेको आरोप लगाएका छन्।

कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले अहिलेको अवस्थामा रास्वपा कम्युनिष्ट शक्तिको मुख्य वर्गीय प्रतिद्वन्द्वी बनेको बताएका हुन्।

उनका अनुसार २०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहँदै आएकोमा अहिले उक्त भूमिकामा रास्वपा आएको छ।

‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु भन्थ्यौं। अहिले संसदीय व्यवस्था भएकाले मुख्य प्रतिद्वन्द्वी भन्छौं। कुनै बेला नेपाली कांग्रेस थियो,’ खनालले भने, ‘अहिले रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा प्रकट भएको छ र सत्ता उसको हातमा छ। उसले व्यापक दमन–मर्दन सुरु गरेको छ।’

खनालले रास्वपा नेतृत्वको सरकारले ल्याएको नीति, कार्यक्रम र बजेट आम जनता तथा तल्लो वर्गको हितमा नरहेको दाबीसमेत गरे। सरकारका आर्थिक नीति माथिल्लो वर्गको हितमा केन्द्रित रहेको र करको भारसमेत जनतामाथि थपिएको उनको आरोप छ।

‘नीति, कार्यक्रम र बजेट आम जनता तथा तल्लो वर्गको हितमा छैनन्। सबै माथिल्लो वर्गको हितमा ल्याइएको छ,’ उनले भने, ‘अहिले जनतामाथि यति धेरै कर भार थोपरिएको छ, त्यो पनि माथिल्लो वर्गकै हितमा छ।’

खनालले पछिल्लो निर्वाचनमा कम्युनिष्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताए। कम्युनिष्ट नेतृत्वले विगतमा गरेका कमजोरी र कार्यकर्ता तथा समर्थकमा बढेको असन्तुष्टि नै पराजयको प्रमुख कारण भएको उनको भनाइ छ।

बाह्य शक्तिको प्रभावसमेत रहेको स्वीकार गर्दै उनले त्यसलाई गौण कारणका रूपमा मात्र लिनुपर्ने बताए। कम्युनिष्ट शक्तिले आफ्नो राजनीतिक कमजोरीको समीक्षा गर्दै संगठनलाई पुनः सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com