चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज दिउँसो नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बाप्र०३–००१ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बाप्र०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र पछाडि सवार अन्दाजी २६ वर्षीया महिला गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार उपचारका क्रममा मोटरसाइकल चालकको दिउँसो १ः५५ बजे र महिलाको २ः०० बजे मृत्यु भएको हो । मृतकहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको उनले जानकारी दिए ।

बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस र मोटरसाइकल दुवै प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक यादवले बताए ।

 

प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com