काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले आफ्नो वर्गीय आधार, मूल विचार र दीर्घकालीन रणनीतिलाई बेवास्ता गर्दा कमजोर बन्दै गएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय पार्टीको ध्यान रणनीतिक लक्ष्यभन्दा सत्ता समीकरण निर्माण र विघटनतर्फ केन्द्रित हुनु गम्भीर कमजोरी भएको स्वीकार गरे।

उनले पार्टी कार्यनीतिक विषयमा बढी अल्झिँदा आफ्नो मूल राजनीतिक लक्ष्य ओझेलमा परेको बताए। ‘हामी बढी कार्यनीतिमा अल्झियौँ। सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो,’ उनले भने।

जनयुद्धका क्रममा पार्टीसँग स्पष्ट रणनीतिक लक्ष्य रहेको स्मरण गर्दै प्रचण्डले त्यतिबेला सामन्तवाद परास्त गर्ने उद्देश्यसहित आवश्यक कार्यनीति बनाएर अघि बढ्दा सफलता हासिल भएको बताए।

तर, पछिल्लो समय रणनीति र कार्यनीतिको भूमिकालाई उल्ट्याएर हेर्दा पार्टी राजनीतिक रूपमा अलमलिएको उनको भनाइ छ। ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो। त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा हामी सफल भयौँ। अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फसेका छौँ,’ उनले भने।

प्रचण्डले पार्टीको जनतासँगको सम्बन्ध कमजोर हुनु पनि पछिल्लो राजनीतिक असफलताको प्रमुख कारण रहेको बताए। पार्टीका दस्तावेज र भाषणमा जनताका विषय उठाए पनि व्यवहारमा जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको उनको स्वीकारोक्ति थियो।

‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो। यही हाम्रो मुख्य त्रुटि भयो,’ उनले भने।

आफ्नो पार्टी कार्यनीतिक विषयमा अल्झिरहेका बेला विपक्षी शक्तिहरू भने दीर्घकालीन रणनीतिका साथ अघि बढेको प्रचण्डको दाबी छ। उनका अनुसार नेपालबाट कम्युनिस्ट शक्तिलाई कमजोर बनाउने वा समाप्त पार्ने रणनीतिमा विपक्षीहरू केन्द्रित भएका छन्।

‘तर हाम्रो बैरी भने कार्यनीति छाडेर रणनीतिमा केन्द्रित भयो। उनीहरूले कसरी नेपालबाट कम्युनिस्टलाई सखाप पार्ने भनेर केन्द्रित भए,’ प्रचण्डले भने।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com