काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले विगतमा भएका आपराधिक घटनामा संलग्न व्यक्ति लामो समय बितिसके पनि कानुनी कारबाहीबाट उम्कन नसक्ने बताएका छन्।

प्रहरी संगठनसँग अपराधका घटनाको संस्थागत स्मृति रहने उल्लेख गर्दै आइजिपी कार्कीले दशकौँ पुराना घटनामा समेत अनुसन्धान गरी दोषीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने काम जारी रहेको बताए।

‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,’ उनले भने।

पुराना घटनामा अनुसन्धान गरेअनुसार अपेक्षित सफलता हासिल हुन नसकेको स्वीकार गर्दै कार्कीले निरन्तर अनुसन्धान र घटनाको पुनःअध्ययनमार्फत अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयास भइरहेको बताए।

उनका अनुसार चर्चित तथा गम्भीर प्रकृतिका पुराना अपराधको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको छ। यस्ता टोलीबाट केही घटनामा उल्लेखनीय सफलता प्राप्त भएको उनले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पनि पुराना जघन्य अपराधको अनुसन्धान जारी रहेको उनले बताए। ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ,’ कार्कीले भने।

समाज, प्रविधि र अपराधको शैलीमा विश्वव्यापी रूपमा आएको परिवर्तनले सुरक्षा चुनौती थपिँदै गएको आइजिपी कार्कीको विश्लेषण छ। आधुनिक अपराधको अनुसन्धानका लागि परम्परागत अनुसन्धान विधि मात्र पर्याप्त नहुने उनले बताए।

प्रहरी कर्मचारीको कार्यसम्पादनलाई थप प्रभावकारी र पारदर्शी बनाउन कार्यसम्पादन सूचक तयार गरिएको जानकारी दिँदै उनले कामका आधारमा मूल्याङ्कन हुने प्रणाली विकास गरिएको बताए।

‘प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ। यो पूर्वानुमानयोग्य छ। कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार्ने मौका पाउँछ,’ उनले भने।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै आइजिपी कार्कीले नागरिकले सामान्य सेवाका लागि अनावश्यक रूपमा प्रहरी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न डिजिटल प्रणाली विकास गरिएको बताए।

उनका अनुसार नागरिकले घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ। ‘नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिने छ,’ उनले भने।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराध बढ्दै गएकाले त्यसको अनुसन्धानका लागि आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन र परिचालन गर्नुपर्ने अवस्था आएको कार्कीले बताए। यस्ता अपराधको अनुसन्धानका लागि विशिष्टीकृत अनुसन्धान इकाइसमेत गठन गरिएको उनले जानकारी दिए।

अपराधको सञ्जाल देशको सीमाभन्दा बाहिरसम्म फैलिँदै गएकाले त्यसलाई नियन्त्रण गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) तथा विभिन्न देशका विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय गरिरहेको आइजिपी कार्कीले बताए।

‘नेपाल प्रहरीले आधुनिक पुलिसिङका स्ट्यान्डर्डलाई अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी संगठनका सदस्यसँग समन्वय गरिरहेको छ,’ उनले भने।

प्रविधिको दुरुपयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी सक्षम हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरे।

नेपाल प्रहरी राज्यको प्रतिनिधिका रूपमा आमनागरिकको सबैभन्दा नजिक रहेर काम गर्ने संगठन भएको उल्लेख गर्दै कार्कीले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

प्रहरीलाई अपराध नियन्त्रण र अनुसन्धानमा आवश्यक सूचना उपलब्ध गराएर सहयोग गर्न उनले नागरिकसँग आग्रह गरे।

‘प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ। आपराधिक प्रवृत्ति भएका मान्छेका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने।

प्रकाशित मिति: ७ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com