बारा। जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा नयाँ नाम जोडिएपछि अनुसन्धान थप पेचिलो बनेको छ।
घटनामा पक्राउ परेका नाबालक आरोपीको प्रहरी हिरासतमा गरिएको भनिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ‘प्रदीप खड्का’ नामका व्यक्ति अनुसन्धानको केन्द्रमा आएका हुन्।
सार्वजनिक भिडियोमा नाबालकले आफू एक्लैले अपराध नगरेको र सिमरा चोकका प्रदीप खड्काको योजना तथा उक्साहटमा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको दाबी गरेको देखिन्छ। उनले बालिकामाथि जबरजस्ती करणी र हत्या भएको घटनामा खड्काको समेत संलग्नता रहेको बताएका छन्।
नाबालकका अनुसार बालिका बेहोस भएपछि खड्का त्यहाँबाट भागेका थिए। त्यसपछि आफूले शवलाई डोरीले बाँधेर तन्नामा बेरेर छाडेको उनले बयान दिएका छन्।
तर, भिडियोमा गरिएको दाबीलाई प्रहरीले अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि गरिसकेको छैन। ‘प्रदीप खड्का’ नामका व्यक्ति वास्तविक रूपमा को हुन्, उनको घटनासँग कुनै सम्बन्ध छ वा छैन र नाबालकले दिएको बयान विश्वसनीय छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि प्रहरीले घटनामा प्रदीप खड्काको नाम सार्वजनिक गरेको थिएन। दोस्रो आरोपीका रूपमा भने प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिइएको थियो।
घटनासँग सम्बन्धित संवेदनशील बयानको भिडियो प्रहरीकै उपस्थितिमा सार्वजनिक भएको विषयले समेत प्रहरी प्रशासनमाथि प्रश्न उठाएको छ। हत्कडीमा रहेका नाबालकको सोधपुछको भिडियो कसरी बाहिरियो भन्ने विषयमा प्रहरी प्रधान कार्यालयले चासो देखाएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार भिडियो सार्वजनिक हुन दिएको विषयमा लापरवाही गर्ने अधिकारीमाथि आन्तरिक कारबाहीको तयारी भइरहेको छ।
नाबालकले नयाँ व्यक्तिको नाम लिएपछि प्रहरीले उनको पहिचान, ठेगाना र घटनामा सम्भावित भूमिकाबारे अनुसन्धान अघि बढाएको छ। बयान अनुसन्धानलाई नयाँ दिशातर्फ लैजाने वास्तविक तथ्य हो वा अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास हो भन्ने कुरा थप प्रमाणबाट मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
त्यसैले हालसम्म ‘प्रदीप खड्का नै गरिमा हत्या प्रकरणका मुख्य योजनाकार हुन्’ भन्ने निष्कर्षमा पुग्ने आधार बनेको छैन। प्रहरीले भिडियोमा आएको दाबीलाई प्रमाणबाट पुष्टि गर्नुपर्ने देखिन्छ।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया