काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न राज्यका सम्बन्धित निकायसँग माग गरेका छन्।

भट्टराईले फेसबुकमा ‘लबकुश थापा’ नामका व्यक्तिले आफूलाई लक्षित गर्दै गरेका आपत्तिजनक अभिव्यक्तिका स्क्रिनसट सार्वजनिक गर्दै प्रहरी तथा राज्यका निकायको ध्यानाकर्षण गराएका हुन्।

डा. बाबुराम भट्टराईले जेनजी विद्रोहको पहिलो वार्षिकी नजिकिँदै गर्दा नयाँ सरकारलाई बदनाम गराउने उद्देश्यले आपराधिक तथा विध्वंसात्मक गतिविधि हुन सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिमाथि समयमै कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता अपराधीलाई राज्यले बेलैमा नियन्त्रणमा लिएर विधिवत् कारबाही गरोस्।’

भट्टराईले वार्षिकीको पूर्वसन्ध्यामा प्रतिगामी शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताविरुद्ध गतिविधि गर्न सक्ने आशंकासमेत व्यक्त गरेका छन्।

उनले भेडाको छाला ओढेर प्रतिगामी तथा राष्ट्रघाती शक्तिले मुलुकमा अशान्ति र अराजकता निम्त्याउने गतिविधि गर्न सक्ने भन्दै राज्यलाई सचेत गराएका छन्।

भट्टराईलाई हिन्दु धर्मविरोधी भन्दै लबकुश थापाले सामाजिक सञ्जालमा लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएको बताइएको छ।

शनिबार थापाले ‘आज राति बाबुराम भट्टराईको घर जलाउने हो साथीहरू, जे पर्ला पर्ला। अति भो हाम्रो आस्थामाथिको प्रहार’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

उक्त अभिव्यक्ति सार्वजनिक भएपछि भट्टराईले प्रहरी तथा राज्यका सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका हुन्।

थापाले अर्को पोस्टमार्फत आफू कानुनी रूपमा गलत भए नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले आफूविरुद्ध कानुनी कारबाही गर्नुपर्ने भए सरकारले खोजी गरिरहनु नपर्ने भन्दै नेपाल फर्कन तयार रहेको उल्लेख गरेका छन्।

यसैबीच, भट्टराईको सचिवालयले पुराना भिडियो तथा अभिव्यक्तिलाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक र धम्कीपूर्ण सामग्री फैलाइएको भन्दै आपत्ति जनाएको छ।

सचिवालयले यस्ता गतिविधिले भट्टराईको सुरक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय एकतामा असर पार्न सक्ने भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com