काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्या तथा काठमाडौंको शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको घटनालाई लिएर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै आचार्यले विशेषगरी गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा संवेदनशील विषयलाई प्रचारको माध्यम बनाइएको भन्दै आपत्ति जनाएका हुन्।

गरिमा चौधरीका आमा–बुबालाई काठमाडौं बोलाएर गृह मन्त्रालयमा भिडियो खिचिएको विषयमा आक्रोश व्यक्त गर्दै उनले पीडित परिवारको पीडालाई प्रचारका लागि प्रयोग गर्न नहुने बताए।

साउन ३१ गते घरबाट हराएकी गरिमा तीन दिनपछि मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि उनका आमा–बुबालाई गृह मन्त्रालयमा बोलाएर धन्यवाद व्यक्त गरेको भिडियो खिचिएकोप्रति आचार्यले प्रश्न उठाए।

‘हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ,’ उनले प्रश्न गरे, ‘एउटा विक्षिप्त परिवारलाई मन्त्रालयमा राखेर भिडियो बनाउनु सरकारको काम हो ? यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ।’

उनले गरिमाका बुवा मनोज र आमा मानमती चौधरीको पीडालाई सरकारले प्रचार तथा विज्ञापनको विषय बनाएको आरोप लगाए। यस्तो प्रवृत्तिले पीडितलाई थप पीडा दिने र न्याय प्रक्रियामाथि नै प्रश्न उठाउने उनको भनाइ थियो।

गरिमा हत्या प्रकरणमा पक्राउ परेका आरोपितसँग अस्पतालमा गरिएको सोधपुछ तथा बयानको भिडियो सार्वजनिक भएको विषयमा पनि आचार्यले सरकार र प्रहरी प्रशासनको आलोचना गरे।

हातमा हतकडी लगाइएका आरोपितसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक हुनुले कानुनी राज्यको मर्यादामाथि प्रश्न उठाएको उनले बताए।

‘एउटा आरोपितले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ, यसले समाजलाई कहाँ पुर्‍याउँछ ?’ उनले प्रश्न गरे।

आचार्यले अनुसन्धानका क्रममा संकलन हुने संवेदनशील सामग्रीलाई सार्वजनिक गर्नुको सट्टा कानुनी प्रक्रिया र पीडितको अधिकारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

महामन्त्री आचार्यले काठमाडौंको शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको घटनालाई समेत प्रतिनिधिसभामा उठाए।

वसन्तको मृत्युको खबर सुनेपछि दाङमा रहेकी उनकी आमाको समेत मृत्यु भएको र वैदेशिक रोजगारीमा रहेका उनका बुवा तत्काल घर फर्कन नसकेको हृदयविदारक अवस्था रहेको उनले बताए।

होस्टेलमा बस्ने युवाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै आचार्यले सरकारको ध्यानाकर्षण गराए।

‘होस्टेलमा बस्ने युवाहरूको सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ। वसन्तका बुवा विदेशबाट फर्कन खोज्दा पनि वातावरण बनेको छैन,’ उनले भने, ‘यस्ता आपत्कालीन अवस्थामा नागरिकलाई स्वदेश फर्काउने संयन्त्र खोइ ?’

आचार्यले सरकारलाई प्रचार र देखावटी गतिविधिभन्दा नागरिकको सुरक्षा, पीडितलाई न्याय र संवेदनशील घटनाको निष्पक्ष अनुसन्धानमा केन्द्रित हुन आग्रह गरे।

प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com