काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकका क्रममा केही सांसदले प्रयोग गरेका अमर्यादित तथा विवादास्पद अभिव्यक्तिहरू संसद्को आधिकारिक अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले प्रयोग गरेका केही शब्द संसदीय मर्यादा विपरीत रहेको ठहर गर्दै रेकर्डबाट हटाउन आदेश दिएका हुन्।
सभामुखको निर्देशनअनुसार सांसद रानामगरले प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द संसद्को अभिलेखबाट हटाइनेछ।
त्यसैगरी, सांसद रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ सम्बन्धी अभिव्यक्तिहरू पनि अभिलेखबाट हटाउन सभामुखले निर्देशन दिएका छन्।
सभामुख अर्यालले संसद्मा बोल्दा प्रयोग हुने भाषा र अभिव्यक्तिप्रति सांसदहरूलाई संवेदनशील हुन आग्रह गर्दै अन्य मित्रराष्ट्र तथा छिमेकी देशहरूको शासन प्रणाली वा अभ्यासलाई गलत अर्थ लाग्ने ढंगले अनावश्यक रूपमा उल्लेख नगर्न पनि ध्यानाकर्षण गराएका छन्।
उनले संसदीय मर्यादा, शिष्ट भाषा र जिम्मेवार अभिव्यक्तिको प्रयोगमार्फत संसद्को गरिमा कायम राख्न सबै सांसदलाई सचेत रहन आग्रह गरेका छन्।
प्रकाशित मिति: ८ भाद्र २०८३, सोमबार













प्रतिक्रिया